सिक्किम बारे
करिब 6,00,00 स्थायी बासिन्दा
रहेको सिक्किम सबैभन्दा कम जनसङ्ख्या रहेको भारतीय राज्य हो भने कूल क्षेत्रफलको
हिसाबले गोवापछि दोस्रो सबैभन्दा सानो राज्य हो। सम्पूर्ण राज्य पार्वत्य
शृङ्खलामा अवस्थित छ जहाँको उँचाइ समुद्री तहभन्दा 300 देखि 8,586 मिटरसम्म रहेको
हुँदा भौगोलिक दृष्टिकोणले 7096 वर्ग किमि. (2,2740 वर्ग मिटर)-को सानो क्षेत्रफल
भए तापनि भौगोलिक विविधताले युक्त छ। यहाँको जलवायु उप-उष्णीयदेखि उच्च
पार्वत्यसम्मको रहनका साथै राज्यमा वन्यप्राणी अनि वनस्पतिको समृद्ध जैवविविधता
पाइन्छ।
विश्वको तेस्रो सबैभन्दा उच्च
शिखर कञ्चनजङ्घा सिक्किम र नेपालको सीमानामा अवस्थित छ। संस्कृति, भू-दृश्यका
साथमा जैवविविधताको कारण सिक्किम पर्यटकहरूको निम्ति आकर्षक गन्तव्य मानिन्छ।
सिक्किममा तीन मूल रैथाने, जस्तै लेप्चा, भोटिया र नेपाली जातिगोष्ठीको बसोबासो छ।
तथ्य एवं आँकडा
राजधानी |
गान्तोक |
जिल्लाको सङ्ख्या |
चार |
जिल्ला मुख्यालय |
पूर्व-गान्तोक;
पश्चिम-गेजिङ; उत्तर-मगन; दक्षिण-नाम्ची |
क्षेत्रफल |
7,096 वर्ग किमि. (2,740 वर्ग माइल) |
जनसङ्ख्या (2011) |
607,688 |
जनघनत्त्व |
85.6/वर्ग किमि. (221.8/वर्ग मिटर) |
साक्षरता दर (2011) |
82% |
भूगोल
बूढी औंला आकारको राज्यको सम्पूर्ण भूभाग पार्वत्य इलाका छ।
सम्पूर्ण राज्य नै पाहाडी क्षेत्र हो जसको उँचाई 280 मिटर (920 फीट) देखि 8,585
मिटर (28,000 फीट) सम्म छ। कञ्चनजङ्घा शिखर सर्वोच्च विन्दु हो, जुन सिक्किम र
नेपालको सीमानामा अवस्थित छ। ठाडो साथै ढुङ्गे भीर-पाखाको कारण अधिकांश भूभाग
खेतीयोग्य छैन। तथापि, केही भीर-पाखालाई गरा-पाटा विधिद्वारा खेतीयोग्य बनाइएका
छन्। हिमनदीहरूले पोस्ने नदीहरूले सिक्किमको पश्चिम अनि दक्षिण क्षेत्रमा कैयौं
उपत्यका वा बेंसीहरू सिर्जना गरेको छ। त्यस्ता खोला नालाहरू टिस्टा अनि रङ्गीत
नदीमा मिसिन पुग्दछन्। टिस्टा नदीलाई सिक्किमको जीवनरेखा मानिन्छ, जुन उत्तरदेखि
दक्षिणतर्फ बग्दछ। करिब एक-तिहाई भू-भाग घना वन-जङ्गलले ढाकेको छ।
हिमालय पर्वत शृङ्खलाले
सिक्किमलाई उत्तर, पूर्व र पश्चिमी सीमामा अर्ध चन्द्राकारमा घेरेको छ। राज्यको तल्लो
हिमाली भेकमा घना जनसङ्ख्या पाइन्छ। राज्यमा 28 वटा शिखर, 80 वटाभन्दा धेरै
हिमनदी, छाङ्गु, गुरुदोङमार र खेचीपेरी झीलसहित राज्यमा 227 वटा उच्च क्षेत्रका
झील-पोखरी, 5 वटा तातो पानीलगायत एक सयभन्दा धेरै नदी-खोलाहरू छन्। आठवटा
भञ्ज्याङले राज्यलाई तिब्बत, भोटाङ र नेपालसँग जोड्दछ।
सिक्किमको तातो पानी औषधीय साथै
उपचारी गुणले युक्त रहेको मानिन्छ। सबैभन्दा लोकप्रियमा फुरछाचु (रेशी), युमथाङ,
बोरोङ, रालाङ, ताराम-छू र युमे सामदोङ छन्। यी तातोपानीहरूमा गन्धकको (सल्फर)
मात्रा धेरै हुनका साथै नदीको किनाराहरूमा अवस्थित छन्। केहीले हाइड्रोजन ग्यास
पनि उत्सर्जन गर्दछ। यी तातो पानीहरूमा औसत तापमान 50 डिग्री सेन्टिग्रेड (122
डिग्री फरेनहाइट)-सम्म पुग्ने गर्दछ।
जलवायु :
राज्यमा दक्षिणमा उप-उष्णीयदेखि
उत्तर भागतिर उच्च पार्वत्य जलवायु पाइन्छ। ध्रुवीय प्रकारको उत्तरी क्षेत्र
वर्षको चार महिना पूरै हिउँले ढाकिने गर्दछ जहाँ प्रत्येक रात तापमान शून्य डिग्री
सेन्टिग्रेड (32 डिग्री फरेनहाइट) सम्म झर्ने गर्दछ। उत्तर अनि पश्चिम सिक्किमका
शिखरहरू प्रायः हिउँले ढाकिएको हुने गर्दछ। तथापि, अधिकांश मानव बस्ती रहेको
इलाकामा समशीतोष्ण अर्थात् मध्यम प्रकारको मौसम रहने गर्दछ जहाँ बर्खामा तापमान 28
डिग्री सेन्टिग्रेड (82 डिग्री फरेनहाइट) र हिउँदमा शून्य डिग्री सेन्टिग्रेड (32
डिग्री फरेनहाइट) सम्म झर्ने गर्दछ। बर्खामासमा औसत तापमान 15 डिग्री सेन्टिग्रेड
रहने गर्दछ। राज्यमा पाँचवटा ऋतु – शिशिर, गृष्म, वसन्त, शरद र जून अनि
सेप्टेम्बरबीच वर्षा ऋतु आउने गर्दछ। सिक्किमको औसत वार्षिक तापमान 18 डिग्री
सेन्टिग्रेड (64 डिग्री फरेनहाइट) रहने गर्दछ। नियमित हिमपातको अनुभव गर्ने
सिक्किम भारतको केही राज्यमध्ये एकमा पर्दछ। हिमरेखा उत्तरमा 20,000 फीटदेखि
दक्षिणमा 16,000 फीटसम्ममा फैलिएको छ। वर्षाको समय, भारी वर्षाले पैह्रो अनि
भल-बाढीको स्थिति सिर्जना गर्दछ। वर्षा याममा भारी वर्षाले पैह्रोका साथै आकस्मिक
भल-बाढीको सम्भावना बढाउँदछ। अविराम वर्षाको सबैभन्दा लामो अवधि 11 दिनसम्मको
दर्ता गरिएको थियो। उत्तरी भेकमा उँचाईको कारण हिउँदमा तापमान शून्य डिग्री सेन्टिग्रेड (-40 डिग्री
फरेनहाइट) सम्म झर्ने गर्दछ। यसका साथै राज्यको धेरै ठाउँ दुवै हिउँद अनि बर्खाको
समय कुइरोले पनि प्रभावित पार्ने हुँदा यातायात अनि परिवहन घातक बन्नपुग्दछ।